दफा १२क
विमा व्यवसायमा रोक लगाउन सकिने
–
(१) देहायका कुनै अवस्थामा समितिले बीमकले गर्दै आएका विमा व्यवसाय अन्तर्गतको कुनैपनि किसिमको व्यवसायलाई पुर्ण वा आंशिक रुपमा रोक लगाउन वा रद्द गर्न सक्नेछः–
(क) विमा व्यवसाय संचालन गर्दा बीमकले अपनाउनु पर्ने प्रकृया संबन्धमा समितिले समय समयमा दिएको निर्देशन उल्लंघन गरेमा,
(ख) बीमकले दफा १४ को विपरित हुने गरी आपनो संचालक वा निजको परिवार वा निज मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थालाई ऋण दिएमा वा कसैले ऋण दिंदा कुनै किसिमको जमानत वा सुरक्षण दिएमा,
(ग) बीमकले दफा १५ बमोजिम समितिलाई दिनु पर्ने सूचना नदिएमा ।
(घ) बीमकले दफा १९ बमोजिम राख्नु पर्ने हिसाब किताबको श्रेस्ता रीतपूर्वक नराखेमा,
(ङ) बीमकले दफा २० बमोजिम बेग्लै राख्नु पर्ने हिसाब किताब बेग्लै नराखेमा,
(च) बीमकले दफा २१ बमोजिम राख्नु पर्ने कोष नराखेमा वा एउटा व्यवसायको निमित्त राखिएको कोषबाट अर्को विमा व्यवसाय संबन्धी दायित्व व्यहोरेमा,
(छ) बीमकले दफा २२ बमोजिम राख्नु पर्ने अनिवार्य जगेडा कोष नराखेमा,
(ज) बीमकले दफा २७ बमोजिम विमा शुल्क रकम प्राप्त नगरी विमा जोखिम स्वीकार गरेमा ।
(झ) बीमकले दफा २८ बमोजिम पुनर्बीमा नगराएमा ।
(२) उपदफा (१) बमोजिम समितिले बीमकको विमा व्यवसायमा रोक लगाउनु अघि संबन्धित बीमकलाई विमा व्यवसायमा रोक लगाउनु परेको कारण खोली स्पष्टीकरण पेश गर्ने मनासिब समय दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको समयभित्र संबन्धित बीमकले स्पष्टीकरण पेश नगरेमा वा गरे पनि निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले उपदफा (१) बमोजिम त्यस्तो बीमकको विमा व्यवसायमा रोक लगाई सोको सूचना नेपाल बाट प्रकाशित हुने दुई मुख्य पत्र पत्रिकामा सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम कुनै बीमकको विमा व्यवसायमा रोक लगाइएको समयावधिमा सो बीमकले आपू उपर पर्न आएको क्षतिपूर्तिको दाबीको भुक्तानी तोकिए बमोजिम गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिम कुनै बीमकको विमा व्यवसायमा रोक लगाइएकोमा त्यस्तो विमा व्यवसायमा रोक लगाई रहनु पर्ने अवस्था विद्यमान नरहेको भनी तोकिएको समय भित्र बीमकले पेश गरेको प्रमाण सन्तोषजनक देखिएमा समितिले तोकिए बमोजिम जरिवाना गरी विमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्न सक्नेछ ।